काठमाडौँ, २३ वैशाख ।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
काठमाडौँको नागार्जुन नगरपालिका–१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्नुहुँर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवाका कामलाई निरन्तरताका साथ अगाडि बढाउन सरकारका तर्फबाट साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आश्रमलाई जीवित राख्न, सञ्चालनमा ल्याइराख्न र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सरकारले सम्पूर्ण प्रयत्न गर्ने विश्वास दिलाउनुभएको छ ।
“जसरी तपाईँहरूले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको नागरिकको पहिचान बनाउनुभएको छ, कामद्वारा मानव सेवाको उद्देश्यलाई सफल पार्न सहयोग पु¥याउन चाहन्छु”, उहाँले भन्नुभयो ।
मानव सेवा आश्रमलाई सरकारबाट हुनसक्ने सहयोगका लागि आजै आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । प्रधानमन्त्री स्वयं पनि देशमा भइरहेका राम्रा कामलाई आत्मसात् गरेर जाने अभियानका साथ अगाडि बढिरहनुभएको उल्लेख गर्दै उहाँले राम्रा कामलाई सरकारले पनि सहयोग गर्नुपर्छ भन्ने दृष्टिकोण राख्नुभएको बताउनुभयो ।
“नेपालमा पनि यस्ता संस्था छन्, जो सम्पूर्णरूपले मानव सेवामा समर्पित भएको देख्न पाउँदा गौरव महसुस गरेको छु”, उहाँले भन्नुभयो । आफ्नो जीवनमा एउटा मात्र उद्देश्य मानव सेवा बनाएर अगाडि बढ्न उपभोक्तावादले ग्रस्त आजको समाजमा सजिलो काम नभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा निकै महान काम भएको बताउनुभयो ।
वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले असहाय नागरिकका लागि राज्यले निर्वाह गर्नुपर्ने दायत्वि मानव सेवा आश्रमले पूरा गरिरहेको बताउनुभयो । “नागरिकका लागि राज्यले गर्नुपर्ने काममा मानव सेवा आश्रमले सहयोगी भूमिका निर्वाह गरिरहेको छ”, उहाँले भन्नुभयो ।
विसं २०८२ भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल निर्माण गर्ने उद्देश्यका साथ आश्रम अगाडि बढिरहेको छ । अहिले देशका विभिन्न स्थानमा रहेका मानव सेवा आश्रममा करिब एक हजार छ सय असहाय नागरिकले आश्रय लिइरहेका छन् । अझै झन्डै चार सयको सङ्ख्यामा सहयोगापेक्षी सडक आश्रित मानव रहेका अनुमान गरिएको छ ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ