काठमाडौँ, २७ वैशाख ।सांसद गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न जो सुकैलाई कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले सो प्रकरणमा संलग्न व्यक्ति जुनसुकै दल र ओहोदाको भए पनि कारबाहीको दायरामा आउनुपर्ने बताउनुभयो ।
बजारको हल्ला र राजनीतिक भेटघाटबाट अनुसन्धान प्रभावित नहोस् भन्दै उहाँले भन्नुभयो, “अनुसन्धान कहीँकतैबाट प्रभावित नहोस्, निष्पक्ष र स्वतन्त्र होस्, निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस् ।”
नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने मात्र सुशासनको नारा लगाउन सक्ने उहाँको भनाइ छ । अहिलेको अनुसन्धान प्रक्रियालाई सबैले गहिरोसँग हेरेको जनाउँदै उहाँले अनुसन्धान निष्पक्ष र स्वतन्त्र भइरहेको छ भन्ने नागरिकलाई विश्वास हुनुपर्ने बताउनुभयो ।
सांसद थापाले नेपालको अर्थतन्त्रको संरचनात्मक समस्याका कारण केही शिथिलता देखिएको उल्लेख गर्दै राजनीतिक दलले कमजोरी गर्दा अर्थतन्त्र आजको अवस्थामा पुगको बताउनुभयो ।“कतिपय नीतिहरु सही भएका छैनन्, केही ठीक काम पनि भएका छन्, ठीक काम गरेकोमा गौरव गरौँ, त्यसको स्वामित्व लिऊ, गलत केही भएका छन् भने त्यसलाई स्वीकर गरौँ र सच्याऔँ”, उहाँले भन्नुभयो ।
सबैबाट कहीँ न कहीँ कामजोरी भएको छ भनेर कठोर कदम उठाउनुपर्नेमा जोड दिँदै उहाँले आगामी वर्षको बजेटबाट जनतामा विश्वास कायम गर्न सुझाव दिनुभयो ।“सरकारले सुशासन ल्याउँदै छ भन्ने स्थापित गर्न सक्यौँ भने राजनीतिक पुँजी बढ्छ । राजनीतिक पुँजी बढ्यो भने अर्को वर्ष दह्रोसँग कदम चाल्न सकिन्छ र संरचनात्मक समस्या हल गर्ने बाटोमा जान सकिन्छ”, उहाँले भन्नुभयो ।
बजेटमा व्यवस्था भएका विषय कार्यान्वयन नहुँदा बजेटले लिएको उद्देश्य पूरा हुन नसकेको उहाँले बताउनुभयो । सांसद थापाले बजेट प्रस्तुत गर्नुभन्दा केही महिना अगाडि नै बजेटको सिद्धान्त र प्रातामाथि छलफल गर्ने गरी बजेट कार्यतालिका बनाउनुपर्ने बताउनुभयो ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ