काठमाडौँ, ६ जेठ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रिकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन काठमाडौँ जिल्ला शाखाको प्रथम अधिवेशनको शुभारम्भ गर्दै मन्त्री ज्वालाले समाजमा हुने राम्रा तथा नराम्रा दुवै पक्षको सत्यतथ्यलाई सुसूचित गरी पत्रकारिताले राष्ट्र तथा जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।
यस क्षेत्रमा भएका विकृति न्यूनीकरण गर्न सङ्गठन अगाडि बढ्नुपर्ने बताउँदै उहाँले समाजवादी प्रेस सङ्गठनले स्थापनाको छोटो समयावधिमा देशभर सञ्जाल विस्तारका साथै प्रतिगमनको सशक्त विरोध गरी जनपक्षीय कार्य गरेकामा सराहना गर्नुभयो । मन्त्री ज्वालाले सरकारले हालै ल्याएको वार्षिक नीति तथा कार्यक्रम गठबन्धनको न्यूनतम साझा कार्यक्रममा आधारित रहेको बताउँदै बजेटमा त्यसलाई ठोस र मूर्तरुप दिएर जनताप्रति थप उत्तरदायित्व वहन गरिने प्रष्ट पार्नुभयो ।
जनमुखी बजेट ल्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो, “मुलुकमा देखिएको अहिलेको आर्थिक जटिलता हामीले समाधान गर्छौँ । अर्थतन्त्रलाई एउटा सरल लयमा ल्याउन आवश्यक परामर्श र अध्ययन भइरहेको छ ।” निर्माण क्षेत्रमा भएका ठेक्का सम्झौताअनुसार कार्यसम्पादन नगरेका कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्वालाले यसमा हुने ढिलासुस्ती, तोकिएका मापदण्ड पूरा नगर्ने, गुणस्तरमा कमजोरीजस्ता विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
बर्र्दियामा निर्माणका क्रममा भत्किएको पुल पुनःनिर्माण गर्न अदालतका निर्णय पर्खनुपर्ने भएकाले त्यस आसपास क्षेत्रमा नयाँ पुल निर्माणको सम्भाव्यता अध्ययन भइरहेकाले करिब एक सातादेखि अनसनमा रहनुभएका सङ्घीय सांसद सञ्जय गौतमलाई अनसन फिर्ता लिन उहाँले आग्रह गर्नुभयो । उहाँ सांसद गौतमको अवस्था बुझ्न आज त्यसतर्फ जाने जानकारी गराउनुभयो । मुलुकको विकास र आर्थिक समृद्धिका लागि पूर्वाधार निर्माणका क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ