काठमाडौँ, १३ जेठ।नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको सुदृढीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको ३२औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रजातन्त्रलाई बलियो बनाउनका लागि सबै लाग्नुपर्ने बताउनुभएको हो । प्रजातन्त्रलाई बलियो बनाउन प्रेस युनियनले खेलेको भूमिका सराहनीय रहेको उहाँको भनाइ थियो ।
“प्रजातन्त्रको विकल्प भनेकै प्रजातन्त्र हो, प्रजातन्त्रको खिलापमा केही शक्ति लागेका छन्, यसप्रति सबै सजग हुनुपर्छ”, सभापति देउवाले भन्नुभयो । लोकतन्त्रमा प्रेसले गर्ने आलोचनालाई सहन सक्ने क्षमता राख्नुपर्ने उहाँको भनाइ छ ।
नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले लोकतन्त्र र प्रेस एक सिक्काका दुई पाटा भएको बताउनुभयो । “प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको अस्तित्व रहँदैन, लोकतन्त्र रक्षाका लागि कांग्रेस लाग्नुपर्छ”, उहाँले भन्नुभयो । पत्रकार महासङ्घको निर्वाचन र नेपाल प्रेस युनियनको निर्वाचनमा पार्टीका नेताको आड लाग्ने प्रवृत्तिको अन्त्य गर्नु जरुरी रहेको विश्वकर्माले बताउनुभयो । प्रेस युनियनमा व्यावसायिक क्षेत्रलाई प्राथमिकता दिन उहाँले सुझाव दिनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकतन्त्रलाई बलियो बनाउनका लागि कांग्रेसभित्र उत्साह थप्नुपर्ने बताउनुभयो । “नौ महिनासम्म केन्द्रीय समितिको बैठक बस्न सकेको छैन, पार्टीभित्र विभाग गठन भएका छैनन्, यसका कारण पार्टी कमजोर बन्दै गएको छ”, उहाँले भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्ष हरिहर विरही, तारानाथ दाहाल, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, पूर्वउपाध्यक्ष दामोदरप्रसाद दवाडी, युनियनका संस्थापक नेता शोभाकर पराजुली, नेपाल प्रेस काउन्सिलका सदस्य रामप्रसाद दाहाललगायतले लोकतन्त्रलाई सुदृढ बनाउने दिशामा श्रमजीवी पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो । उहाँहरुले सञ्चार क्षेत्र कमजोर भए लोकतन्त्र कमजोर हुने भएकाले लोकतन्त्रलाई बलियो बनाउन नेपाल प्रेस युनियन लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस युनियनलाई शुद्धिकरण गर्दै संस्थागत ढङ्गले अगाडि बढाउनका लागि वर्तमान कार्यसमिति लागिपरेको बताउनुभयो । उहाँले युनियनका अधिकांश प्रदेश र जिल्लाको अधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै यसै महिनाभित्र बाँकी जिल्ला र प्रदेशको अधिवेशनसमेत सम्पन्न गरिसक्ने बताउनुभयो ।रासस
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ